(Go: >> BACK << -|- >> HOME <<)

कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

के.आई.सिंह संग्रहालयका लागि सामग्री संकलन 

मोहन शाही

डोटी — के.आई.सिंह संग्रहालयका लागि आवश्यक पर्ने प्राचीन एवम् डोट्याल जीवनशैली झल्कने सामग्री संकलन अभियान सुरू भएको छ । 

के.आई.सिंह संग्रहालयका लागि सामग्री संकलन 

के.आई.सिंह गाउँपालिकाले संचालन गरेको अभियानमा स्थानीयले उत्साहपूर्वक साथ दिन थालेका छन् । के.आई.सिंह गाउँपालिकाले आफ्नै लगानीमा वडा नं १ डुम्राकोटमा १० कोठे संग्रहालय स्थापना गरेको छ । पूर्वप्रधानमन्त्री एवम् नेपाली राजनीतिका सहासी नेताका रूपमा परिचित डा. के.आई.सिंहको जन्मथलोमा संग्रहालय संचालनमा ल्याउन लागिएको हो ।

के.आई.सिंह वडा नं. १ का स्थानीय नरबहादुर शाहीले गोर्खा राजा र तत्कालीन डोटी राजाका तर्फबाट डुम्राकोटका शाही परिवारबीच भएको घमासान युद्धमा प्रयोग भएको ऐतिहासिक तरबार र शाही परिवारको वंशावली हस्तान्तरण गर्ने घोषणा शनिबार गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेस डोटी जिल्ला कार्यसमिति कोषाध्यक्ष प्रमिला परियारले ६ थान डोट्याली महिलाले प्रयोग गर्ने गुन्यू र गामन, के. आई.सिंह गापा उपाध्यक्ष मिना विष्टले जाली माला, जिल्ला समन्वय समिति सदस्य नरेश खड्काले आफूसँग रहेका काठका भाँडाकुँडा नि:शुल्क उपलब्ध गराउने घोषणा गरे ।

डुम्राकोटका मीनबहादुर शाहीले डुम्राकोटका सबै घरधुरीबाट पुरातात्त्विक एवम् डोट्याली जीवनशैली झल्कने सामग्रीहरू दिन सामूहिक निर्णय भइसकेको जानकारी दिए । झिमेमालिका माविका प्रधानाध्यापक नरबहादुर कार्कीले परम्परागत कला, संस्कृति र पहिचान झल्कने मूल्यवान सामग्रीहरू प्रयोगमा नआएकाले नयाँ पुस्ता पुर्ख्यौली जीवनशैलीबाट अनविज्ञ रहेको बताए । नयाँ पुस्तालाई परिचित गराउन पनि संग्रहालयमा ऐतिहासिक एवम् सांस्कृतिक जीवनशैली झल्कने सामग्रीहरू नि:शुल्क उपलब्ध गराउनु सबैको दायित्व भएको कार्कीले बताए ।

शनिबार संग्रहालय संचालन तथा व्यवस्थापनसम्बन्धी के.आई.सिंह गापाद्वारा छलफल कार्यक्रम आयोजना गरिएको थियो । छलफलमा अभियानबारे अध्यक्ष शाहीले जानकारी दिएका थिए । गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले इतिहास, पहिचान झल्कने सामग्री उपलब्ध गराएर सहयोग गरिदिन आग्रह गरेका छन् । उनले संग्रहालयमा के.आई.सिंहको जीवन झल्कने सामग्रीका साथै सुदूरपश्चिमको भेषभूषा, संस्कृति, इतिहास र पुरातत्वका सामग्रीहरू प्रदर्शनीका लागि राखिने बताए ।

प्रकाशित : असार २, २०८१ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय
चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?