(Go: >> BACK << -|- >> HOME <<)

+
+

मिमिक्री गरी मोदीलाई उडाउने कलाकारको लोक सभा उम्मेदवारी रद्द

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १९:३२
उम्मेदवारी दर्ता गरेपछि कलाकार श्याम रंगिला ।

३ जेठ, काठमाडौं । नरेन्द्र मोदीले आफू प्रधानमन्त्री भएपछि भारतमा धेरै बदलाव ल्याएको जिकिर गर्दै आएका छन् । मोदीको बदलाव योजनालाई मिमिक्रीमार्फत उडाउँथे कलाकार श्याम रंगिला ।

रंगिलाले मोदीको दुरुस्तै आवाज निकाल्दै भनेका थिए, ‘हमारे पिएम बन्नेका बादमे मुगल सराय स्टेसनका नाममें बदलाव आया की नहीं आया ।’(म प्रधानमन्त्री बनेपछि मुगल सराय स्टेसनको नाममा बदलवा आयो कि आएन ।)

मोदीको बदलाव योजनालाई उडाउँदै उनले भनेका थिए, ‘भाइ और बहेनों । यिसी प्रकार हम ह्वाट्सएपका नाम बदलके अटल बिहारी बाजपेयी गुपचुप वार्तालाप रखलेंगें ।’

(भाइ तथा बहिनी यस प्रकारले ह्वाट्सएपको नाम बदलेर अटल बिहारी बाजपेयी गुपचुप वार्तालाप राखिने छ ।)

रंगिला मोदीको दुरुस्तै स्वरमा भन्छन्, ‘हम बदलावमें यकिन रख्ते हैं ।’( हामी बदलावमा विश्वास गर्छौं ।)

‘मुझे आपसे जवाफ चाहिए । अगस्ट महिना आनेवाले हैं अर्थात ठण्डे दिन आने वाला हैं । हमने कहाथा बदलाव आएगा । गर्मी से सर्दी हो जाएगी,’ –तपाईंहरू मलाई जवाफ दिनुस् । अगस्ट महिना आउँदैछ । अर्थात चिसो दिन सुरु हुँदैछ । गर्मीबाट अब जाडो आउने छ । हामीले भनेका थियौं बदलाव आउने छ ।)

मोदीलाई यसरी उडाउँदा रंगिलाले प्रशंसामात्रै बटुलेनन्, हैरानी पनि खेप्नुपर्‍यो । कतिपय अवस्थामा मोदीको मिमिक्री राष्ट्रिय टेलिभिजनहरूले प्रसारण नै गर्न छोडेको उनले बताउने गरेका थिए ।

कमेडी शो द लाफ्टर च्याम्पिएनमा मोदीको मिमिक्रीका लागि आफूलाई रोकिएको उनले सन् २०१७ मा खुलासा गरेका थिए । उनले लेखेका थिए, ‘राहुल गान्धीको मिमिक्री गर्न मलाई छुट थियो । मोदीको मिमिक्री निषेध गरियो । मेरो खासियत नै मिमिक्री थियो । त्यसमा रोक्दा शोबाटै म हट्नुपर्‍यो ।’

सात वर्षअघि काँचको पर्दामा मोदीको मिमिक्री निषेध गरिएका रंगिलालाई अहिले मोदीविरुद्ध चुनाव लड्न निषेध गरिएको छ । उनको उम्मेदवारी भारतीय निर्वाचन आयोगले खारेज गरिदिएको छ ।

बनारसमा मोदीलाई चुनौती दिन चुनावी मैदानमा उत्रिने तयारी गरेका उनलाई उम्मेदवार बन्नका लागि अयोग्य घोषणा गरियो । रंगिलाले आफ्नो उम्मेदवारी प्रक्रियामा नै अवरोध खडा गरिएको बताएका छन् ।

जिल्ला मेजेस्टेमा आफूलाई पुग्न नदिएको उनले बताएका छन् । लोकतान्त्रिक प्रक्रियामा सहभागिताका लागि सबैको अधिकार हुने भन्दै उनले भनेका छन्, ‘म लोकप्रियताका लागि चुनाव लड्न लागेको थिइनँ । सर्वसाधरणमाझ म यसै पनि लोकप्रिय छु । हार वा जित प्रक्रियाको कुरा हो तर प्रक्रियामै निषेध गर्न खोज्नु निरंकुशता हो,’ उनको भनाइ उदृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ ।

१४ मे मा रंगिलाले उम्मेदवारी दर्ता गरेका थिए । त्यही दिन निर्वाचन आयोगले उनको कागजात अपुग भएको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो ।

रंगिलालको उम्मेदवारी खारेजी राजनीतिक विषय बनेको छ । प्रतिपक्ष दलहरूले यसको विरोध गरेका छन् । कंग्रेसका नेता सुरेन्द्र राजपुतले रंगिलाको उम्मेदवारी खारेजी गलत रहेको बताएका छन् । ‘लोकतान्त्रिक प्रक्रियामा सहभागिताको अधिकार मोदीसहित सबैलाई छ । तर रंगिलालाइ निषेध गर्न खोज्ने प्रशासनको रैवया संवैधानिक छैन । के मोदी लोकप्रिय मानिससँग डराएका हुन् । हैन भने रंगिलाको उम्मेदवारी खारेज गर्नुपर्ने कारण के हो ?’ राजपुतको प्रश्न छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी बनारसबाट तेस्रो पटक लड्दैछ्न् । सन् २०१९ मा उनले ४ लाख ८० हजार मतले विजयी हात पारेका थिए भने सन् २०१४ मा ३ लाख ७२ हजार मतले विजयी भएका थिए ।

रंगिलाले स्वतन्त्र रूपमा त्यहाँ उम्मेदवारी दिएका थिए । बनारसबाट रंगिला सहित अन्य ३३ उम्मेदवारको समेत उम्मेदवारी रद्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?