(Go: >> BACK << -|- >> HOME <<)

गुमेको बजार फर्काउँदै पश्मिना

गुमेको बजार फर्काउँदै पश्मिना

काठमाडौः नेपाली पश्मिना युरोप र अमेरिकी बजारमा लोकप्रिय थियो । अर्बौं रुपैयाँको पश्मिना निर्यात हुन्थ्यो । नेपाल घुम्न आउने पर्यटकले लगेजमा पश्मिना बोकेर फर्किन्थे । डेढ दशकअघि १० अर्ब रुपैयाँभन्दा बढीको पश्मिना विदेश निर्यात भएको थियो । पश्मिना व्यापार ‘बुम' भइरहेको थियो ।

संसारभर पश्मिनाको चर्चा भयो । भारत र चीनले नेपाली पश्मिनाको नक्कल गर्न थाले । दुवै मुलुकको बिजनेस नेटवर्क राम्रो थियो । कम मूल्यमा नक्कली पश्मिना निर्यात गर्न थाले । चीनले ४० प्रतिशत कम मूल्यमा पश्मिना बेच्न थाल्यो । सस्तो मूल्यमै विश्वभर पश्मिना पाउन थाल्यो । त्यही बेलामा नेपाल सरकारले पश्मिनामा कर लगायो । नेपाली पश्मिना संकटमा पर्‍यो । एकै वर्षमा निर्यात एक अर्बमा खुम्चिएको पश्मिना उद्योग संघका अध्यक्ष पुष्पमान श्रेष्ठ बताउँछन् ।

‘०५८ सालअघि निर्यात बढेर १० अर्बसम्म पुगेको थियो', श्रेष्ठले भने, ‘एक्कासी पश्मिना व्यवसायमा पहिरो गयो, व्यापार एक अर्बमा खुम्चियो ।' व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी)को तथ्यांकमा २०५८÷०५९ मा सवा अर्बको ऊनी तथा पश्मिना निर्यात भएको देखिन्छ । व्यापार सुस्ताएपछि ८० प्रतिशत व्यवसायी पलायन भएको उनको भनाइ छ । विश्वभर बजार पिटिरहेको नेपाली पश्मिना धरासायी हुन पुग्यो ।


पछिल्ला वर्षमा पश्मिनाको निर्यात बढिरहेको छ । तर, डेढ दशक अगाडिको अवस्थामा पुग्न धेरै वर्ष कुर्नुपर्ने देखिन्छ । पश्मिनाको निर्यात झिनो अंकमा वृद्धि भइरहेको छ । अघिल्लो वर्ष दुई अर्ब ६४ करोडको पश्मिना निर्यात भएकोमा गत वर्ष दुई अर्ब ८८ करोडको मात्र निर्यात भएको छ । यो रफ्तारले १० अर्बको बजार पुर्‍याउन ठूलै संघर्ष गर्नुपर्ने श्रेष्ठ बताउँछन् ।

‘पश्मिनाको बजार गुमेपछि नेपाली व्यवसायी संगठित भयौं, नेपाली पश्मिनाको ट्रेडमार्क बनायौं', श्रेष्ठले भने, ‘अहिले एक अर्बको व्यापार तीन अर्बसम्म पुर्‍याउन सकेका छौं, विस्तारै निर्यात बढिरहेको छ ।' अहिलेसम्म ‘भेडा च्याङ्ग्रा' नामक ट्रेडमार्क ४२÷४५ देशमा दर्ता भइसकेको छ । नेपालमा ट्रेडमार्क दर्ता गराउने नियम नै थिएन । विदेशबाट ट्रेडमार्क दर्ता सुरु भयो । ट्रेडमार्क दर्ता भएपछि नेपाली पश्मिनाको बजार बढ्दै गइरहेको छ ।

सरकारले पनि निर्यातमा दुई प्रतिशत प्रोत्साहन दिन थाल्यो । सरकारी प्रोत्साहनले पनि निर्यात बढाउन सघाएको श्रेष्ठ बताउँछन् । बैंकले पनि सस्तो ब्याजमै ऋण दिन थालिसकेका छन् । ‘हामी पश्मिना देश विदेशमा प्रर्दशनी गरिरहेका छौं, प्रचार प्रसार गरिरहेका छौं, सरकारले पनि सहयोग गर्न थालेको छ', उनले भने, ‘हामीले पनि पश्मिना बजार बुझेका छन्, ग्राहकको रुचिअनुसार उत्पादन हुन थालेको छ, अब विस्तारै व्यापार बुम होला ।'

सरकारले मुस्ताङमा भेडा तथा च्याङ्ग्रा फार्मिङका लागि बजेटमा चार÷पाँच करोड छुट्टाएको छ । बैंकबाट सहुलियत ऋणको व्यवस्था छ । सरकार पश्मिनाको निर्यात प्रवद्र्धनमा लागेको छ । ‘पुरानै अवस्थामा फर्किन त समय लाग्ला, पाँच/सात अर्बकै निर्यात गर्न सकिए पनि १५/२० हजारलाई रोजगारी पनि दिन सकिन्छ', श्रेष्ठले भने ।

पश्मिना निर्यात बढाउन ‘मार्केटङ स्ट्राटेजी' महत्वपूर्ण रहेको टीईपीसीका वरिष्ठ अधिकृत कृष्णराज बजगाईं बताउँछन् । यस्तै, कच्चा पदार्थको उपलब्धता पनि उत्तिकै महत्वपूर्ण छ । कच्चा पदार्थ चीन, न्युजिल्यान्ड लगायतका मुलुकबाट भित्रिँदै आएको छ । नेपालमै भेडा उत्पादन गरेमा पश्मिना निर्यातका लागि सहज हुने उनको बुझाइ छ । विदेशबाट कच्चा पदार्थ ल्याएर ‘भ्यालु एड' गर्दा पश्मिना महँगो पर्न जान्छ ।

पश्मिनाको सुरुवात

भेडा च्याङ्ग्रा मुस्ताङ, मनाङ, डोल्पाजस्ता हिमाली जिल्लामा पालिन्छ । गुरुङ, शेर्पा आफूले लगाउन ऊनका कपडा बनाउँथे । व्यावसायिक रूपमा खासै उत्पादन हुँदैनथ्यो । विस्तारै गुरुङ, शेर्पा काठमाडौं, पोखरालगायतका सहरमा झर्न थाले ।

उनीहरूले जानेको यही थियो । ऊनी पश्मिनाका कपडा बनाउन थाले । इन्द्रचोकमा ऊनी पश्मिना बिक्री गर्ने साहु थिए, उत्पादित कपडा बिक्री गर्न इन्द्रचोकका साहुलाई दिन्थे । दरबारमार्गमा पनि पश्मिनाको शोरुम थियो । पर्यटकले चर्को दाम हालेर पश्मिना खरिद गर्थे ।

व्यवसायी श्रेष्ठका अनुसार पञ्चायतअघि पश्मिनाको खासै बजार थिएन । नेपाल घुम्न आउने पर्यटकले किनेर लैजान्थे । पश्मिना उद्योग र पसल पनि कमै थिए । २०४६ सालपछि मुलुकमा पर्यटक बढ्न थाले । पर्यटक हुलका हुल आएर पश्मिना किनेर लैजान थालेको श्रेष्ठ सम्झन्छन् । पश्मिनाको व्यापार बढ्दै गयो ।

यो क्रम २०५० सम्म कायम रह्यो । पश्मिना उत्पादक र बिक्रेता थपिँदै गए । ठमेल, दरबारमार्ग, सोल्टी मोडमा पसल खुल्न थाले । २०४८ तिर ठमेलमा ५÷६ वटासम्म पसल खोलिसकेको उनी बताउँछन् । ‘सोल्टी मोडमा पहिल्लै थियो, भक्तपुर दरबार स्क्वायमा पनि पसल खोलेँ', उनले भने, ‘पश्मिनाको सबै व्यापार आफ्नो हातमा ल्याउँछु भन्ने थियो ।'

ठमेलभरी पश्मिनाका पसल खुल्न थाले । पहिला कारखाना मात्र चलाउने धमाधम पसल खोलेर बिक्री पनि गर्न थाले । तर, पश्मिनाको व्यापार वृद्धि लामो समय टिकेन । २०५० मा एमालेका महासचिव मदन भण्डारीको हत्या भयो । दिनदिने जुलुस निस्कन थाल्यो, बन्द हडताल भइरह्यो । पर्यटक आउन छाडे । अर्जिनल पश्मिनाको ग्राहक सबै विदेशी थिए÷छन् । व्यापार सुस्ताएर धरासायी हुन थाल्यो । करीव ४÷५ वर्ष व्यवसाय टिकाउने गाह्रो परेको श्रेष्ठ सुनाउँछन् ।

०५५/५६ देखि पश्मिनाको व्यापार बढ्न थाल्यो । श्रेष्ठका अनुसार ५६ र ५७ सालमा पश्मिनाको व्यापार उछालियो । दश अर्बभन्दा बढीको पश्मिना निर्यात हुन थाल्यो । नेपाल आउने पर्यटकले झोलाभरि पश्मिना बोकेर जान्थे । त्यसको कुनै लेखाजोखा नै थिएन । ‘त्यो बेलामा विदेशबाट डेढ लाख अमेरिकी डलरसम्मको एडभान्स आउँथ्यो', उनले भने, ‘पश्मिना उत्पादकलाई अर्डर लिन भ्याइनभ्याइ हुन्थ्यो ।'

सुरुवातमा नेपाली कच्चा पदार्थबाट बनाएका खर्सा कपडाले घोच्थ्यो । पछि चीनबाट कच्चा पदार्थ ल्याउन थालेपछि नरम कपडा उत्पादन हुन थाल्यो । त्यसपछि पश्मिनाको बजार बुम भएको श्रेष्ठको भनाइ छ । यतिसम्म कि दुई वर्ष अस्ट्रेलियामा नेपाली पश्मिनाकै कारण कोटको व्यापार घटेको थियो ।

एउटै महिलाले कलर मिलाएर दर्जनभन्दा बढी सल किन्थे । त्यो बेलामा केही विदेशी कम्पनी नेपालमा आएर साझेदारीमा पश्मिना उत्पादन गर्न थालिसकेका थिए । उनीहरूले विदेशमा पश्मिनाको बजार प्रवद्र्धन तथा विस्तार गरे । विदेशी हिरो, हिरोइन, उद्योग, व्यवसायी, सेलिब्रिटीले पश्मिनाका कपडा लगाउन थालेपछि नेपाली पश्मिना चम्किएको श्रेष्ठ सम्झन्छन् ।

बुम भइरहेको बजारमा ५८ सालपछि पहिरो गयो । पछिल्लो समय पश्मिनाको व्यापारमा सुधार आइरहेको छ । नेपाली पश्मिनाको कलेक्टिभ ट्रर्डमार्क दर्ता गरेर प्रवद्र्धन भइरहेको छ । सरकारले पनि पश्मिनालाई निकासीयोग्य वस्तको सूचीमा राखेर बजारीकरण गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.