(Go: >> BACK << -|- >> HOME <<)

इतिहास बोल्ने सिक्का

इतिहास बोल्ने सिक्का

धेरैले पञ्च मार्कलाई विश्वको सबैभन्दा पुरानो मुद्राका रूपमा पनि लिने गरिन्छ। ती सिक्का कपिलवस्तुको तिलौराकोट उत्खननका क्रममा भेटिएको संग्रहालयले जनाएको छ।


इतिहास, सभ्यता र संस्कृतिलाई प्रमाणित गर्ने एउटा महत्त्वपूर्ण पुरातात्त्विक प्रमाण हो, मुद्रा। विभिन्न अभिलेख र पुराना दस्तावेजले प्रमाणित गर्न नसकेका इतिहासलाई उजिल्याउने काम पनि मुद्राले नै गर्छ। त्यसैले पुरातात्त्विक उत्खननमा यसलाई महत्त्वपूर्ण प्रमाण मानिन्छ। 

तत्कालीन राजनीतिक घटनाक्रमको आरोह–अवरोह, धार्मिक, सांस्कृतिक, आर्थिक परिदृश्यका साथै भाषा, धर्म, लिपि, वैदेशिक सम्बन्धसँगै तत्कालीन समय, शासक र भूगोललाई प्रष्ट पार्ने प्रा.डा. प्रेम खत्रीले ‘मुद्रा, राष्ट्र र समाज : सभ्यताका विविध आयाम’ लेखमा उल्लेख गरेका छन्। ‘हेर्दा सानो धातुको टुक्रा मुद्राले धर्म, अर्थ, राजनीति, कला, इतिहास, समाज, सम्प्रभुता, शासनको निरन्तरता वा वंशक्रम, व्यापार विस्तार आदि विषयलाई प्रकाश पार्छ’, खत्रीले आफ्नो लेखमा भनेका छन्, ‘यसका गुण र विशेषता वास्तवमै धेरै छन्।’

काठमाडौंको छाउनीस्थित राष्ट्रिय मुद्रा संग्रहालयले नेपालका अत्यन्त दुर्लभ तथा सर्वप्राचीन मुद्राहरूको संरक्षण मात्र गरेको छैन, संग्रहालयको ‘सोकेस’मा प्रदर्शनमा राखिएका मुद्राले तत्कालीन समयको वस्तुस्थिति र इतिहासका महत्त्वपूर्ण पटाक्षेपहरूलाई पनि छर्लंग पार्ने काम गर्छ। यसैगरी वस्तु विनिमय हँुदै मौद्रिक प्रणालीको विकास, विभिन्न कालखण्डमा शासकहरूले चलाएका मुद्रा, त्यसको विशेषता, मान्यता अनि मुद्राहरूको विकासक्रमको समग्र पाटोलाई राष्ट्रिय मुद्रा संग्रहालयले पुष्टि गर्छ। 

जमानव ढुंगेयुगबाट कृषि र पशुपालनमा युगमा प्रवेश गरेपछि उनीहरूले सम्पत्तिाको महत्व बुझे।

दक्षिण एसियामा सर्वप्रथम ईशापूर्व आठौं शताब्दीमा ‘आहत मुद्रा’ (पञ्च मार्क) प्रचलन आएको मानिन्छ। 

राजा मानदेवको पालादेखि नै नेपालमा मुद्रा सुरुआत भएको पाइन्छ। उनले धातुमा तामाको प्रयोग गरेर ‘मानांक मुद्रा’ प्रचलनमा ल्याएका थिए। 

मानदेवपछि एकै पटक अंशु बर्माको नाममा मुद्रा जारी भएको पाइन्छ। 

२०१९ पुस १ गते तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहका पालामा स्थापना भएको राष्ट्रिय मुद्रा संग्रहालय आफैंले विभिन्न आरोह अवरोह बेहोरे पनि सत्ता र शक्तिको उन्माददेखि पतन अनि त्यसबेलाका धार्मिक मूल्यमान्यता र आस्थादेखि मानव सभ्यताको विकास एवं वस्तु विनिमयको आदिमकालको चित्रण प्रदर्शनीमा राखिएका सिक्काहरूले गर्छ। 

मुद्राअघिको अ‍ैंचोपैंचो युग
मानव ढुंगेयुगबाट कृषि र पशुपालनमा युगमा प्रवेश गरेपछि उनीहरूले सम्पत्तिको महत्त्व बुझे। भविष्यका लागि पनि संग्रह गर्नुपर्छ भन्ने भावना उनीहरूमा विकास भयो। त्यसपछि उनीहरूले आफूले उब्जनी गरेका अनाजहरू जोहो गर्न थाले। यही समयमा विभिन्न राज्यहरू खडा भए। आफ्नो राज्यलाई समृद्ध बनाउन लुटपाट सुरु भयो। लुटपाटले मात्र साध्य नभएपछि सटही प्रथा सुरु भयो। तर, सटही प्रथामा पनि समस्या देखियो। एउटा सानो वस्तुसँग ठूलो वस्तु साटफेर गर्दा समस्या भएपछि त्यसलाई सहजीकरण र सरलीकृत बनाउन सुन, चाँदी, तामालगायतका धातुलाई मुद्राका रूपमा प्रयोग गर्न थालियो। अर्थात् वस्तुको मूल्य निर्धारण गर्न र मूल्यको अनुपात मिलाउन विनिमय गर्ने अर्को भरपर्दो माध्यमको खोजी हुँदा मुद्राको आविष्कार हुन पुगेको विश्वास गरिन्छ। 

‘आर्थिक कारोबारमा मानिसमा समान आवश्यकताको अभाव, मूल्यको सर्वमान्य मापनको अभाव, विभाजनमा देखिएको कठिनाइ, मूल्य सञ्चयमा असुविधा र भविष्यमा हुने भुक्तानीको कठिनाइजस्ता कारणले विनिमय प्रणालीको विकल्प खोज्ने क्रममा मुद्राको व्युत्पत्ति भएको हो’, डा. रमेश ढुंगेलले आफ्नो पुस्तक ‘प्राचीन अर्थव्यवस्था’मा भनेका छन्। समयक्रममा घर पालुवा जनावर र अनाज साटासाट गर्ने स्थानमा ढुंगाका हतियार, धनुषबाँण, पशुका छालालाई पनि मूल्य निर्धारण गरी विनिमयको साधन बनाएको पाइन्छ। यसैगरी विभिन्न पत्थर, धातु र कौडीका गरगहनाहरू पनि विनिमयका साधन बन्न पुगेका इतिहास छन्। धातुको नापतौल गर्न धेरै समय र मिहिनेत लाग्ने भएपछि धातुलाई सानासाना बाटुला आकारमा काटेर मुद्राको रूपमा प्रयोग गर्न थालिएको संस्कृतिविद् सत्यमोहन जोशीको ‘नेपाली राष्ट्रिय मुद्रा’ पुस्तकमा उल्लेख गरिएको छ। इतिहासकारहरूका अनुसार सिन्धुघाँटी सभ्यतामै माटाका सिलछाप पाइएको उल्लेख गरेका छन्। 

वैदिक सभ्यतामा मौद्रिक इकाइहरूको प्रयोग निकै नै भएको इतिहासकारको भनाइ छ। वैदिक सभ्यतामा धन सम्पत्ति, दान दक्षिणालगायतका विषयमा प्रयोग भएको पाइन्छ। दक्षिण एसियामा सर्वप्रथम ईशापूर्व आठौं शताब्दीमा ‘आहत मुद्रा’ (पञ्च मार्क) प्रचलन आएको मानिन्छ। यस मुद्राका बारेमा ब्राह्मी लिपिमा समेत लेखिएको पाइन्छ। धेरैले पञ्च मार्कलाई विश्वको सबैभन्दा पुरानो मुद्राका रूपमा पनि लिने गरिन्छ। ती सिक्का कपिलवस्तुको तिलौराकोट उत्खननका क्रममा भेटिएको संग्रहालयले जनाएको छ।

नेपालमा मुद्राको सुरुआत 
नेपालमा प्रमाणिक इतिहास लिच्छविकालदेखि सुरु भएको मानिन्छ। लिच्छविकाल अघि पनि गोपाल, महिस्पाल र किरातीहरूले शासन गरेको पाइन्छ। तर, लिच्छविकाल अघिका इतिहास प्रमाणिक रूपमा नरहेको त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक अच्युत अधिकारी बताउँछन्। ‘इतिहास प्रमाणका आधारमा चल्छ। लिच्छविकालभन्दा अघिका प्रमाणहरू प्रमाणिक छैनन्। खाली कथा र कहावत मात्रै सुनिएको छ। प्रमाणहरू केही पाइएको छैन’, उपप्राध्यापक अधिकारी भन्छन्, ‘५२१ मा मानदेवले राखेको लिच्छविकालीन अभिलेख चाँगुनारायणमा भेटिएको थियो। जसलाई प्रमाणिक इतिहास मानिन्छ।’

राजा मानदेवको पालादेखि नै नेपालमा मुद्रा सुरुआत भएको पाइन्छ। उनले धातुमा तामाको प्रयोग गरेर ‘मानांक मुद्रा’ प्रचलनमा ल्याएका थिए। जसमा लिच्छवि लिपि र संस्कृत भाषा प्रयोग गरिएको २०७६ सालमा मुद्रा संग्रहालयद्वारा प्रकाशित स्मारिकामा प्रा.डा. प्रेम खत्रीले आफ्नो लेखमा उल्लेख गरेका छन्। उक्त मुद्राको पृष्ठभागमा ‘श्री भोगिनी’ र कमलको फूलमाथि बसेको नारी मूर्ति अंकित छ। राजा मानदेवले मानांक मुद्रामा आफ्नी रानी श्री भोगिनीको नाम उल्लेख गरेका थिए। 

मानदेवपछि एकै पटक अंशु बर्माको नाममा मुद्रा जारी भएको पाइन्छ। उनले आफ्नै नाममा मुद्रा जारी गरेका थिए। त्यस मुद्राको विशेष नाम भने केही थिएन। लिच्छविकालमा पण, कार्षापण, पुराण, द्विपणजस्ता इकाइहरू प्रयोग गर्ने गरिएको इतिहासविद्हरूको भनाइ छ। अंशु बर्मापछिका राजाहरूको मुद्रा भने पाइएको छैन। लिच्छविकालीन मुद्रामा हिन्दू धर्म र संस्कृतिको विशेष प्रभाव रहेको देखिन्छ। मानदेव र अंशु बर्माका मुद्रामा पनि स्पष्ट तिथिमिति भने नभेटिएको इतिहासविद्हरू बताउँछन्। 

लिच्छविकालको पहिलो मानदेवका मानांक मुद्रा मात्रै नभएर अंशु बर्माका मुद्रा, श्रीगुणांक मुद्रा, जिष्णुगुप्तस्य मुद्रा, वृष, वैश्रवण र पशुपति मुद्राहरू लिच्छविकालमा प्रचलित मुद्राहरू हुन्। लिच्छविकालीन मुद्राहरू विभिन्न चक्र, घोडा, नन्दी, देव, देवीका नाम र मूर्ति, कलश, फूलका चित्र र सिंह, साँढे, गाई, हात्तीलगायतका आकृति पाइन्छन्। 

मल्लकालीन मुद्रामा तान्त्रिक प्रभाव
लिच्छविकालीन मुद्रापछि लामो समयसम्म नेपाली मुद्रा देखिँदैन। यो तथ्यलाई संग्रहालयले पनि प्रष्ट पार्दछ। लिच्छविकालको पशुपति मुद्रापछि कान्तिपुरका राजा महेन्द्र मल्लको मुद्रा संग्रहालयमा भेटिन्छ। महेन्द्र मल्लका मुद्रामा एकातिर बज्र र अर्कोतिर त्रिशूल चित्र अंकित छन्। मल्लकालीन मुद्रामा धार्मिक, सांस्कृतिक र तान्त्रिक प्रभाव बढी छ। यसैगरी स्पष्ट रूपमा थितिमितिको उल्लेख गरिएको छ भने राजा÷महाराजाको नाम पनि उल्लेख गरिएको छ। मल्लकालमा पनि रानी र मन्त्रीको नामबाट पनि मुद्रा जारी भएको पाइन्छ। राजाहरूले आफूलाई विभिन्न उपाधि दिएर मुद्रामा नाम लेखाएको पाइन्छ। 

मल्लकालीन मुद्राहरू लिच्छविकालीन मुद्राभन्दा निकै फरक देखिएका छन्। मल्लकालका अधिकांश मुद्राहरू चाँदीका मात्र पाइएका छन्। मल्लकालका मुद्रामा देवदेवीका मूर्ति नभएर विशेषत: तन्त्रयन्त्रको मात्रै प्रभाव परेको देखिन्छ। अपवादबाहेक हेर्ने हो भने अधिकांश मल्लकालीन मुद्रामा राजाको नाम र मिति स्पष्टसँग उल्लेख गरिएको पाइन्छ, जुन लिच्छविकालीन मुद्रामा पाइँदैन। 

पाटनका राजा सिद्धिनरसिंह मल्लको मुद्रामा पहिलो पटक मिति अंकित गरिएको देखिन्छ। त्यसपछि तीन वटै मल्ल राज्यका राजाहरूले प्रचलनमा ल्याएका मुद्रामा साल, महिना, तिथि, दिनसमेत उल्लेख छन्। मल्लकालीन मुद्रामा नेपाल सम्बत्को प्रयोग पनि गरिएको छ। ती मुद्रामा त्रिकोण, चतुष्कोण, षटकोण, अष्टकोण, अष्टदल, नवकोण, भूपुर, अष्टमंगल आदिका पृष्ठभूमिमा नै विविध प्रकारका यन्त्रहरू पनि छन्। यसैगरी सात्विकतन्त्र, राजसतन्त्र र तामसतन्त्रको प्रयोग पनि मल्लकालीन मुद्रामा गरिएको पाइन्छ।

दोलखाको पनि छुट्टै मुद्रा
अहिलेसम्म पाइएका अधिकांश मुद्रा काठमाडौं उपत्यकाका मात्र छन्। तर, उपत्यका बाहिर दोलखाले पनि आफ्नै मुद्रा बनाएको थियो। काठमाडौंदेखि ५० माइल पूर्वमा रहेको दोलखा राजा यक्ष मल्लको पालासम्म सामन्त राज्यका रूपमा थियो। यक्ष मल्लको मृत्युपश्चात् उपत्यकाको पुरानो मल्लशासित राज्य विभिन्न राज्यमा विभाजित भएलगत्तै दोलखाले आफूलाई स्वतन्त्र राज्य घोषणा गरेको पाइन्छ। उत्तरमध्यकालमा नेपालमा चाँदीको सिक्का प्रचलनमा ल्याउने पहिलो व्यक्ति दोलखाका राजा इन्द्रसिंह देव हुन्। 

तिब्बतमा चलेको नेपाली मुद्रा
तिब्बतमा ई.सं. १६४० को दशकदेखि नै नेपाली मुद्रा चलेको संग्रहालयको अभिलेखमा उल्लेख गरिएको छ। तिब्बती बजारमा नेपाली व्यापारीहरूको एकाधिपत्य सँगसँगै नेपाली मुद्राले पनि तिब्बती बजारमा एकाधिकार जमाएको थियो। रणजित मल्लको समयमा निष्कासन गरी तिब्बत पठाइएका मुद्राहरू संग्रहालयमा संग्रृहीत छन्। महेन्द्र मल्लको पालादेखि नै तिब्बतबाट चाँदी ल्याएर मुद्रा निर्माण गरी तिब्बत पठाउने गरेको इतिहासविद्हरू बताउँछन्। तिब्बती भाषामा नेपाली मुद्रालाई नाङटाङ भनिन्थ्यो। राजा जयप्रकाश मल्ल र राजा प्रतापसिंह शाहको पालामा काटिएका मोहरहरू प्रशस्त मात्रामा प्रचलनमा आएको देखिन्छ। यी मुद्रालाई तिब्बतीहरू ‘चोटाङ’ (काटेको मोहर) पनि भनिन्छ।

तिब्बतका लागि चाँदी लिएर मुद्रा बनाइदिने प्रथा प्राचीन मल्लकालदेखि मल्लकालको अन्त्यसम्मै पनि चलिरह्यो। तिब्बतका लागि आवश्यक मुद्रा नेपालले बनाइदिने सन्धि भयो। कर्णेल कर्क पेट्रिकका अनुसार यसबापत नेपालको आम्दानी वर्षभरिको एक लाख पुग्थ्यो। चाँदीमा तामा मिसाएर मुद्रा निर्माण गरी तिब्बत पठाउन थालियो। त्यसपछि तिब्बत आफैंले मुद्रा निर्माण गर्न थालेको इतिहास छ। 

शाहवंशीय मुद्रा
शाहकालीन मुद्रामा बडामहाराजाधिराज पृथ्वीनारायण शाहभन्दा अघिका राजाहरूको मुद्राहरू भने भेटिँदैन। पृथ्वीनारायण शाहदेखि प्रतापसिंह शाह, रणबहादुर शाह, गीर्वाणयुद्ध विक्रम शाह, राजेन्द्रविक्रम शाह, सुरेन्द्रविक्रम शाह, पृथ्वी वीरविक्रम शाह, त्रिभुवन वीरविक्रम शाह, महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र शाहसम्मका मुद्राहरू छन्। पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानमा ई.स. १७६८ मा कान्तिपुर विजय गरेपछि त्यहाँबाट निष्कासन गरेको मुद्रामा ‘शक संवत’ लेखेको पाइन्छ। केही शाह राजाहरूको मुद्रामा विक्रम संवत् पनि प्रयोग भएको पाइन्छ। मुद्रामा शक संवत्को प्रचलन राजा पृथ्वी वीरविक्रमको समयसम्म पाइन्छ। राजा त्रिभुवनको समयदेखि हालसम्म मुद्रामा विक्रम संवत् मात्र प्रयोग भएको देखिन्छ। गीर्वाणयुद्धविक्रम शाहका पालादेखि सुनका मुद्राहरू पनि निष्कासन गर्न थालिएको देखिन्छ। 

एउटै राजाको नाममा दुई पटक मुद्रा
२००७ सालमा संक्रमणकालीन समयमा त्रिभुवन शाह भारत गएपछि २००७ सालमा नै जारी भएको बाल राजा ज्ञानेन्द्र शाहका सिक्का पनि संग्रहालयमा सुरक्षित छन्। २००७ कात्तिक २१ मा सम्पूर्ण राजपरिवारसहित त्रिभुवन भारतीय राजदूतावासमा शरण लिन पुगेका थिए। प्रधानमन्त्री मोहनशमशेरले श्री ५ त्रिभुवनलाई भारतीय राजदूतावासबाट फर्काउन अनेक प्रयत्न गर्दा पनि सफल भएनन्। त्यसै समयमा त्रिभुवनका माहिला नाति ज्ञानेन्द्र शाहलाई राजगद्दीमा बसाली राज्याभिषेक गरिएको थियो। यसै समयमा उनको नाममा एक रुपैयाँ र पचास पैसा मूल्यबराबरका दुई प्रकारका मुद्राहरू निष्कासन गरेको पाइन्छ। तिनमा मोहर (पचास पैसा) २७ वटा निस्केका थिए भने एक रुपैयाँका डबल प्रशस्तै निस्केका थिए। २०५८ सालको दरबार हत्याकाण्डपछि राजा भएका ज्ञानेन्द्रको त्यसबेला पनि मुद्रा र कागजी नोट निस्किएको थियो। 

सिक्काबाट कागजी नोटमा फड्को
नेपालमा लिच्छविकालदेखि शाहकालसम्म आर्थिक तथा वित्तीय कारोबारका निमित्त सिक्काहरूको प्रयोग भएको पाइन्छ। सिक्काहरूको आकार र तौलअनुसार दर कायम गरी कारोबारमा लगाइन्थ्यो। वि.सं १९७५ मा तोकिएको दरलाई पैसा भन्ने गरिन्थ्यो। नेपाली चाँदीका सिक्काहरू खुला रूपमा भारतीय मुद्रासँग साटिन्थ्यो। यसले गर्दा ठूलो घाटा बेहोर्नु परेको थियो। सिक्कामा घाटा भएपछि आफ्नै कागजी मुद्राको अभाव महसुस गरी राजा त्रिभुवनको पालामा १ असोज २००२ मा पहिलो पटक नेपालमा कागजी मुद्रा प्रचलनमा ल्याइएको थियो। त्यसबेला मोरु ५, १० र १०० दरका नोटहरू निष्कासन गरिएका थिए। नेपाली कागजी मुद्राको निष्कासन गर्ने सरकारी निकायलाई सदर मुलुकी खाना भनिन्थ्यो। यसैगरी त्यतिखेर गभर्नरलाई खजान्ची भनिन्थ्यो। पहिलो खजान्ची जनकराज थिए। त्यसपछि क्रमश: भरतराज, नरेन्द्रराज खजान्ची भए। हिमालयशमशेर राणा पहिलो गभर्नर बनेका हुन्।

संग्रहालयमा मुद्रा
२०१९ पुस १ मा हनुमानढोकामा एउटा ग्यालरीका रूपमा सञ्चालन भएको राष्ट्रिय मुद्रा संग्रहालय २०४५ सालमा राष्ट्रिय संग्रहालय परिसर छाउनीमा स्थानान्तरण भएको हो। राष्ट्रिय मुद्रा संग्रहालय प्रमुख प्रतिमा रञ्जितले संग्रहालयले पुराना मुद्राहरू पनि किनेर प्रदर्शनमा राख्ने गरेको छ। केही समयपहिले मात्रै अंशु बर्माको मुद्रा ८० हजारमा किनेर प्रदर्शनमा राखिएको उनले बताइन्। उनका अनुसार सिक्का र नोट गरी १ हजार ३ सय ९० थान मुद्रा प्रदर्शनमा राखिएको छ। यस्तै ४० हजार ३ सय ४६ थान मुद्रा स्टोरमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.