वायु प्रदूषण: हामीले श्वास फेर्दा कति आयु घटिरहेछ

वायु प्रदुषण

तस्बिर स्रोत, Getty Images

फोक्सोका रोगहरू, क्यान्सर, मुटुसम्बन्धी समस्या र मस्तिष्कघात सबै वायु प्रदूषणसँग जोडिएका छन्।

वायु प्रदूषण र रोगको सम्बन्ध यति धेरै देखिन थालेको छ कि यसलाई नयाँ धूमपान भन्न थालिएको छ।

तर हाम्रो जीवनलाई वायु प्रदूषणले कति छोट्याउँदै छ त?

वैज्ञानिकहरूको एउटा टोलीले घर बाहिरको वायु प्रदूषणले हाम्रो जीवनको झन्डै तीन वर्ष घटाउने बताएको छ। यो २.९ वर्षको नयाँ औसत पहिले अनुमान गरिएभन्दा दोबर र सूर्ती धूमपानभन्दा बढी हो।

कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित एउटा अध्ययनमा उनीहरूले युद्धसहित सबैखाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक भएको दाबी गरेका छन्।

र अध्ययनकर्ताहरूले वायु प्रदूषणका कारण हुने मृत्युको सङ्ख्या धूमपानबाट हुनेभन्दा धेरै भएको पत्ता लगाएको दाबी गरेका छन्।

Smog in Delhi in 2017
Getty
वायु प्रदूषणले औसत आयुलाई कसरी असर गर्छ

  • २.९ वर्षवायु प्रदूषणका कारण विश्वभरमा घट्ने औसत आयु

  • ०.७ वर्षएचआईभी/एड्सका कारण घट्ने औसत आयु

  • ०.३ वर्षयुद्धसहित सबैखाले हिंसाका कारण विश्वभर घट्ने औसत आयु

स्रोत: कार्डियोभास्कुलर रिसर्च

उनीहरूले नयाँ तथ्याङ्क प्रशोधन विधि प्रयोग गरेर सन् २०१५ मा भएको मृत्युदर गणना गरेर वायु प्रदूषणलाई ८८ लाख मृत्युसँग जोडेका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि प्रतिवर्ष ८२ लाख मानिसहरूको मृत्यु धूमपानसँग जोडिने गरेको छ।

'विश्वव्यापी महामारी'

वायु प्रदूषणले मुटुसम्बन्धी र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउने र हाम्रो स्वस्थ जीवनयापनमा अन्य असर पार्ने बताइएको छ।

"हाम्रो नतिजाले वायु प्रदूषण महामारी भएको देखाउँछ," मेन्ज युनिभरसिटी मेडिकल सेन्टरका प्राध्यापक थोमस मुञ्जेलले एक विज्ञप्तिमा लेखेका छन्।

"नीति निर्माता र स्वास्थ्य समुदायले यसलाई थप ध्यान दिनुपर्ने देखिन्छ।"

घूमपान

तस्बिर स्रोत, Getty Images

मुञ्जेल र उनका सहकर्मीहरूले खनिजमा आधारित इन्धनको कम प्रयोगले मानिसको आयु उल्लेख्य रूपमा बढाउन सकिने बताएका छन्।

उनीहरूको अनुमानमा त्यस्तो धुवाँ शून्यमा झार्न सकिए मानिसको आयु एक वर्षले बढ्ने छ।

क्षेत्रीय र राष्ट्रिय घाटा

त्यो टोलीले क्षेत्रीय र राष्ट्रिय स्तरमा वायु प्रदूषणको दीर्घकालीन असरको बारेमा अध्ययन गरेका छन्।

पूर्वी एशियामा वायु प्रदूषणले मानिसको लगभग चार वर्ष आयु घटेको र ओ‌सनिया क्षेत्रमा एक वर्षभन्दा कम घटेको उनीहरूको अनुमान छ।

देश अनुसारको असर पनि फरक छ।

श्वास फेर्दा कति वर्ष उमेर घटिरहेको छ?. वायु प्रदूषणका कारण घट्ने औसत आयु (छानिएका देशहरूमा).  .

चाडमा सात वर्षभन्दा बढी आयु वायु प्रदूषणले घटाउने र कोलम्बियामा चार महिनामात्रै घट्ने उनीहरूले पाएका छन्।

मानवसिर्जित प्रदूषण

अध्ययनमा मानवसिर्जित वायु प्रदूषण र प्राकृतिक वायु प्रदूषणको विश्लेषण गरिएको छ। प्राकृतिक वायु प्रदूषण हावामा धुलो उड्ने वा आगलागीका कारण हुने गर्छ।

यसको निष्कर्षमा विश्वभरि हुने वायु प्रदूषणका कारण हुने दुई तिहाइ असामायिक निधनमा मानवसिर्जित वायु प्रदूषण कारक रहेको बताइएको छ।

मानिस

तस्बिर स्रोत, Getty Images

अध्ययनले वायु प्रदूषणले बुढो मानिसहरूलाई बढी असर गर्ने देखाएको छ: उनीहरूका अनुसार वायु प्रदूषणका कारण असामायिक निधन हुनेहरूमध्ये ७५ प्रतिशत मानिस ६० वर्षमाथिका छन्।

अध्ययनमा संलग्न नभएका अक्सफर्ड विश्वविद्यालयका स्यामुअल काइले यो अध्ययनले "वायु प्रदूषण विश्वभर स्वास्थ्यका लागि सबैभन्दा मुख्य जोखिम रहेको" देखाएको बताएका छन्।

"वायु प्रदूषण नयाँ सुर्ती भएको कुरा कुनै गोप्य कुरा होइन र यसको जनस्वास्थ्यमा असर टडकारो छ," काइ भन्छन्।

"सम्बन्धित अधिकारीहरूले वैज्ञानिक नीतिमार्फत आफ्ना नागरिकहरूलाई बचाउन काम गर्ने बेला आएको छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, खतरनाक वायु प्रदुषण