(Go: >> BACK << -|- >> HOME <<)

समाचार

भब्य लंगर(भोजन) आयोजना

भब्य लंगर(भोजन) आयोजना

काठमाडौँ । गुरु नानकको जन्म जयन्तीका अवसरमा भव्यरुपमा लंगर (भोजन) आयोजना गरिएको छ । काठमाडौँको बालाजु र कुपण्डोलस्थित गुरुद्धारा नानक मठ लगायतका शिख समुदायको बसोबास रहेको स्थलमा विहान ११ बजेदेखि कार्यक्रम गरिएको हो ।

लंगरको आयोजना विश्व सिख सहायता संघ, संगत टीभी बेलायत तथा नेपालको सिख समुदायको संयोजकत्वमा गुरुद्वारा नानक मठ बालाजुमा प्रसाद वितरण कार्यक्रम भब्य रुपमा गरिएको शिख समुदायका हरसिमरन जित सिंहले जानकारी दिए ।

सिंहले गुरु नानकले सुरु गरेको लंगर नेपालमा पनि ७ वर्षदेखि थालिएको जानकारी दिए । पब्लिक न्युज एजेन्सीसँग उनले भने– ‘यस कार्यक्रममा जो पनि आउन सक्ने, धर्म जातका आधारमा भेदभाव नगर्ने तथा धनी गरिब सबैलाई राखेर एकै स्थलमा खाने भएकाले पनि यसमा प्रसादको रुपमा ग्रहण गर्न जो कोही पनि आउँछन् ।’ यस पटकको लंगर सेवामा बेलायत र मलेशियाबाट पनि शिख समुदायका प्रतिनिधि उपस्थित थिए । 

गुरु नानकले १४८१ देखि संसारभरका जात, धर्म, रंगभेद, उमेर, लिंगका आधारमा गरिने भेदभाव अन्त्य गरी सबै एकै हुन् र एकै किचनमा पकाएको खानेकुरा खानुपर्छ भन्ने भावनाले लंगर सुरु गरेका थिए । 

शिख र उनीहरुको नेपाल साइनो  

डक बादशाहको उपमा बनाएको शिख समुदाय भारतमा १५ औँ शताब्दीमा उदय भएको थियो । शिखहरुको नेपाल कनेक्शन हेर्दा राजा जयजगत मल्लका पालादेखि सुरु भएको हो ।

राजा जयजगतका पालमा शिख गुरु आदिदेव धार्मिक यात्राका लागि काठमाडौँ आएका र उनले मानसिक सन्तुलन गुमाएका राजाका छोरालाई सन्चो गराईदिएपछि काठमाडौँको बालाजु, म्हैपीमा बक्सिस स्वरुप १६ सय रोपनी जग्गा पाएका थिए ।

सोही समयदेखि शिखको नेपाल कनेक्शन सुरु भएको पाइएको छ । अर्कोतर्फ शिख हेरिटेज अफ नेपाल पुस्तकमा उल्लेख भए अनुसार ब्रिटिश शासनकालमा करिब डेढ सय वर्ष अघि शिख समुदाय नेपाल प्रवेश गरेको उल्लेख गरिएको छ । भारतमा अंग्रेजको पोल्टामा पुगिनसकेको स्वतन्त्र पञ्जाब राष्ट्र र नेपालबीच भाइचारा रहेको थियो ।

ब्रिटिश अंग्रेजसँग पराजित हुनु परेपछि तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले पञ्जाब महाराजा रणजीत सिंहसँग सहयोग मागे । सिंहले १० हजार  शिख फौज सहयोगका लागि पठाए । नेपाल अंग्रेजबीच सुगौली सन्धि भएपछि सहयोगार्थ नेपाल आएको १० हजार शिख फौज नेपालगञ्जमा बसेको उल्लेख छ । 

त्यसैले पनि नेपालगञ्ज, बाँकेका जमुनाह, वनकटहवा, बकौली लगायतका स्थानमा शिखहरुको ठूलो समुदाय छ । 
अहिले शिखहरु प्रहरी, सशस्त्र प्रहरी, प्राविधिक लगायतका सरकारी पदमा कार्यरत छन् । 

-यो समाचार पब्लिक न्युज एजेन्सी(Publicnewsagency.com)बाट साभार गरिएको हो । यहाँले पनि पब्लिक न्युज एजेन्सीबाट साभार गरी पुनः प्रकाशन गर्न सक्नुहुनेछ । 

विशेष